भेरीगङ्गा (सुर्खेत), २१ असार : सुर्खेतको वराहाताल गाउँपालिकाले ५५ वर्षमाथिका नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नागरिक स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाको समन्वयमा असार १२ गतेदेखि नौ दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा नसर्ने रोगअन्तर्गत उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगको जाँच गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय सरकारको अनुभूति गराउन नागरिकको स्वास्थ्यप्रति सरकारको दायित्व हुने भएकाले स्वास्थ्य शिविर सञ्चालन गरी दीर्घ रोगको अवस्था पहिचान गरिएको उहाँको भनाइ छ । शिविरबाट दुई हजारभन्दा धेरै नागरिकले सेवा लिएको गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी विष्णु गुरुङले जानकारी दिनुभयो ।
उक्त शिविर वडा नं. २ को पाग्म, गिरिघाट र हरिहरपुर स्वास्थ्य चौकी, वडा नं. ४ को साजघाट, चन्द्रीबाँज र तरङ्गा स्वास्थ्य चौकी, वडा नं. ७ को नयावन, गाहाथाल र पोखरीकाँडा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।
यसैगरी, वडा नं. ८ को ओदालताल, रानीवन र कपासे हुँदै दमार, वडा नं. ९ को सिरुपाटा, सलैना र लेखगाँउ स्वास्थ्य चौकी वडा नः ५ कुनाथारी स्वास्थ्य चौकि र चेपाङ स्वास्थ्य चौकी वडा नंः १ मग्राह, गाडापानी, श्रीचौरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
—
