काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उहाँले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदकाे सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा एक सय ८८ मत परेको थियो भने विपक्षमा ७४ मत परेको थियो । साथै एक सदस्य तटस्थ रहनुभएको थियो ।
एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
