काठमाडौँ, १४ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिमा आज मिडिया काउन्सिल विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री गुरुङले उक्त विधेयकमार्फत प्रेस स्वतन्त्रतालाई अकुंश लगाउने सरकारको कुनै नियत नभएको स्पष्ट पार्नुभएको हो ।
समितिको बैठकमा उहाँले उक्त विधेयकको उद्देश्यमाथि प्रकाश पार्दै प्रेस जगतलाई मर्यादित, व्यवस्थित र सुदृढ बनाउन उक्त विधेयक ल्याएको बताउनुभयो । मन्त्री गुरुङले मन्त्रालय र विभागभन्दा अलग्गै स्वयत्त निकाय सञ्चालनमा ल्याइ प्रेसको नियमन, स्वनियमन, सम्बन्धन र प्रवर्द्धन गर्ने खोजिएको स्पष्ट पार्नुभयो ।
“हामी सबैको प्रेस स्वतन्त्रतामा पूर्ण विश्वास छ । हामी सबै प्रतिबद्धता जाहेर गरेर आएका हाँै । मन्त्रालय र सरकार यसका पक्षमा छौँ”, उहाँले भन्नुभयो, “मन्त्रालयले प्रेस स्वतन्त्रतामाथि अकुंश लगाउने शङ्का छ भने म विश्वस्त तुल्याउन चाहन्छु, हामी सबैको प्रेस स्वतन्त्रतामाथि पूर्ण विश्वास छ । हाम्रो नियतमाथि प्रश्न नउठाउनुहोला ।”
