महेन्द्रनगर (धनुषा), १९ भदौ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सैद्धान्तिक रुपमा दुई ठूला दल एकठाउँमा बस्न उपयुक्त नभए पनि देश र जनताका लागि मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।
आज जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय बिपी भवनमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “पार्टीका सभापति शेरबहादुर देउवामा रहेको संयोजनकारी भूमिका अतुलनीय रहनुका साथै विषयवस्तुमा केन्द्रित भएर बोल्ने बानीका कारण पार्टीभित्र सैद्धान्तिक रुपमा कुनै विवाद नभएको र पार्टी ठीक ढङ्गले चलेको छ ।”
नेता महतले दुई ठूला दलबीच भएको सात बुँदे समझदारीमा जनताको अधिकार कटौती गर्ने विषयमा कुनै सहमति नभई जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउने कुरा उल्लेख भएको बताउनुभयो । मुलुकमा राजनीतिक स्थिरता तथा सुशासनका लागि दुई ठूला दलको सरकार बनेको उहाँको भनाइ छ ।
पत्रकार भेटघाटमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेपाली काँग्रेस महोत्तरीका सभापति नागेन्द्र प्रसाद यादव, पुराना नेता शिवधारी यादव, जिउँदा सहिद भनेर चिनिने ललन चौधरी, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झासहितका नेताहरूको उपस्थिति रहेको थियो ।
