सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य होः सभापति देउवा

प्रशासन मुख्य समाचार समाचार

काठमाडौँ, १९ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताउनुभएको छ ।

पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताउनुभयो ।

सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालबीच कुनै मतभेद नरहेको बताउनुभयो । उहाँले देशको अवस्था चुनौतीपूर्ण रहेकाले कर्मचारीमा अझ यसको प्रभाव पर्ने बताउनुभयो । चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

सभापति देउवाले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी राजनीतिक दल मुलुकको समस्या समाधानका लागि एक ठाउँमा उभिएको बताउनुभयो । उहाँले मुलुकको राजनीतिबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।