काठमाडौँ, २२ भदौ : धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि आज गणेश चतुर्थी पर्वका अवसरमा उपत्यकाका पाँच गणेशको दर्शन र पूजायात्रा सम्पन्न भएको छ । विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागितामा आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का पाँच विनायकको दर्शनयात्रा गरिएको हो ।
सहारा महिला समाजको आयोजना तथा गोल्डेन आई ग्रुपको यात्रा व्यवस्थापनमा भएको उक्त कार्यक्रममा उपत्यकाका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता थियो । काठमाडौँको काष्ठमण्डपसँगै रहेकोे अशोकविनायक (मरुगणेश)बाट सुरु भएको यात्रा चोभारको जलविनायक, ललितपुरको बुङ्मतीस्थित कार्यविनायक, भक्तपुरको सूर्यविनायक र कमलविनायकको दर्शन तथा पूजा आराधना गरी धार्मिकयात्रा आज साँझ सम्पन्न गरिएको यात्रा व्यवस्थापक गोल्डेन आई ग्रुपका अध्यक्ष अरुण सिलवालले जानकारी दिनुभयो ।
पन्ध्र वर्षअघिदेखि सुरु भएको उक्त पाँच गणेश दर्शन पूजायात्रा हरेक वर्ष जारी राखिएको छ । अध्यक्ष सिलवालले सुरुमा व्यक्ति–व्यक्ति मिलेर र ट्राभल एजेन्सीहरूबाट सुरु गरिएको उक्त धार्मिकयात्रामा अहिले विभिन्न सामाजिक सङ्घसंस्था नै जोडिएर एउटा पर्वकै रूपमा विकास भएको जानकारी दिनुभयो । सुरुआती चरणमा १५ वर्षअघि सिलवाल, भूपेन्द्रराम श्रेष्ठलगायतका प्रतिनिधिबाट यात्रा थालिएको थियो ।
“यसको मुख्य उद्देश्य सांस्कृतिक र धार्मिक पर्यटन प्रवर्द्धन गर्नु हो, त्यसमाथि सबैभन्दा पहिले पूजा हुने गणेश भगवान्को पूजाआराधना पनि गर्न पाइने हुँदा भक्तजनको सहभागिता हरेक वर्ष बढ्दो छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा हरेक विनायकमा धिमेबाजा बजाएर नाजगान गर्दै विनायकको दर्शन र पूजा गरिएको थियो । आजको गणेश चतुर्थी पर्व, सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । यात्रामा सहभागी हरिन्द्रराज घिमिरेले यसरी धार्मिकयात्रा आयोजना हुँदा नेपालको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गर्दै सहभागी हुँदा आफूलाई पनि सन्तोष मिल्ने बताउनुभयो ।

गणेश जन्मोत्सव जात्रा एवं गणेश रथयात्रा हर्षोल्लासका साथ सम्पन्न भएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको चाँदीको मूर्ति रथारोहन गरी सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ खट बोकेर टोलटोलमा परिक्रमा गरी रथयात्रा मनाइएको थियो । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले आज बिहान सूर्यविनायक गणेश मन्दिरमा पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई साँझ गणेश जन्मोत्सव जात्रा गरेका हुन् । सूर्यविनायक क्षेत्र प्रबन्ध समितिको संयोजन र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको गणेश अर्थात् इनरे गणेद्यो खट जात्रा हजारौँको सहभागितामा दिनभर टोलटोलमा खटलाई परिक्रमा गराई साँझ सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष एवं प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । “पुर्खाले मनाउँदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो विगत पाँच वर्षदेखि भने नियमित रूपमा सञ्चालन गरिरहेका छौँ । यस वर्ष पनि हजारौँ स्थानीयको सहभागितामा सिन्दूर खेल्दै रथ टोलटोल पु¥याएर हर्षोल्लासका साथ जात्रा मनाइएको छ”, उहाँले भन्नुभयो । जात्रा व्यवस्थापनका लागि दुईवटै वडाले रु तीन‐तीन लाख सहयोग गरेका अध्यक्ष बस्नेतले बताउनुभयो । गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको यस जात्रालाई बर्सेनि निरन्तरता दिइने क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो । जात्रामा सहभागी महिला पुरुषले सिन्दूर खेल्दै गणेशको खटलाई मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मका टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ । काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्ने गरेका छन् । समितिकानुसार यहाँ रहेको गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।