कैलाली, ४ असोजः नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति नै सरकार अघि बढेको र आगामी निर्वाचनसम्म सहमतिकै साथ जाने उल्लेख गर्नुभयो ।
उहाँले दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा, संविधान संशोधन, यसको कार्यान्वयन, अर्थतन्त्र सुधारलगायतका विषय रहेको बताउनुभयो ।
नेता महतले नेपाली कांग्रेसले अहिले देशभर एक सय दिनको अभियान सुरु गरेको बताउनुभयो । उहाँले यस अभियान पार्टी निर्माणमा केन्द्रित हुने बताउनुभयो ।
