वासिङ्टन डिसी (अमेरिका), १४ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आज भएको सो भेटवार्तामा उहाँहरूबीच शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच नेपालको संसद्ले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयमा पनि कुराकानी भएको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।
मन्त्री डा राणाले नेपालको संसदले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कानुन पारित भएको र सो कानुन पीडितमैत्री भएकाले शान्ति प्रक्रियाका बाँकी काम पनि छिट्टै निष्कर्षमा पुग्ने स्पष्ट पार्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय ७९औँ महासभामा भाग लिने क्रममा अमेरिका आउनुभएकी मन्त्री डा राणा आइतबार वासिङ्टन आइपुग्नुभएको छ ।
