कागेश्वरीलाई चिनाउन तीनदिने महामेला

राजनीति समाचार

काठमाडौँ, १८ भदौै । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिर क्षेत्रलाई पर्यटकीय रुपमा चिनाउन तीनदिने महामेलाको आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भदौ १९ गतेदेखि तीनदिने महामेला आयोजना गर्न लागिएको हो । काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महामेला आयोजना गरिएको नगरप्रमुख कृष्णहरि थापाले राससलाई जानकारी दिनुभयो ।

महामेलाको पहिलो दिन कागेश्वरी महादेव मन्दिरमा साहित्य सम्मेलन आयोजना हुँदैछ । दोस्रो दिन भाद्र शुक्ल अष्टमीका दिन भदौ २० गते कागेश्वरी महादेवस्थानमा मेला लाग्छ । परापूर्वकालदेखि लाग्ने यो मेलामा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । दोस्रो दिन मेला व्यवस्थापन गरिने उहाँले सुनाउनुभयो । तेस्रो दिन भने मन्दिर क्षेत्रमा सफाइ गरिने जनाइएको छ । यही मन्दिर र मनोहरा नदीको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण शुरु भएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताउनुभयो ।

एक वर्षमा यसको निर्माण भइसक्ने जनाइएको छ । एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । कागे अष्टमीसमेत भनिने भाद्र शुक्ल अष्टमीका दिन यहाँ आई कागरुपी महादेवको पूजा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ । यहाँ लाग्ने मेलाको विशेष धार्मिक एवं सांस्कृतिक महत्व छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा बर्सेनि मेला लाग्दै आएको हो । कागे अष्टमीमा धाममा गई हरियो मकै वा अन्य अनाज चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने र खेतबारीमा रोपिएको मकै कागले नखाने मान्यता रहेको छ । कागेश्वरी मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीसमेत लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थान प्राकृतिक सौन्दर्यताले पनि भरिपूर्ण छ । प्राकृतिक सौन्दर्यताको समेत रसास्वादन गर्न कागे अष्टमीको दिन यहाँ धेरै धार्मिक पर्यटक आउने गरेको मेला व्यवस्थापनमा सहयोग गरिरहनुभएका मधुसुदन केसीले राससलाई जानकारी दिनुभयोे ।