दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्ने

आर्थिक कृषि समाचार

काठमाडौं, भदौ १९ । शनिबारदेखि दूधको मूल्य प्रतिलिटर ६ रूपैयाँले बढ्ने भएको छ। शनिबारदेखि दूधको मूल्य बढ्ने दूग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्र कुमार घिमिरेले जानकारी दिए। कृषि मन्त्रालयले हामीलाई प्रतिलिटर ६ रूपैयाँ बढाउने सिफारिश गरेर पत्र पठाएको छ’, उनले भने, आजै बैठक बसेर मूल्य सार्वजनिक गर्छौ।’
उनका अनुसार लिटरको दूधमा प्रतिलिटर ६ रूपैयाँ बढाइने छ भने प्याकेटमा ३ रूपैयाँ बढाइने छ। बिहीबार कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य ६ रूपैयाँले बढाउने गरी फाइल स्वीकृत गरेका छन्। बढेको दूधको मूल्यको ६९ प्रतिशत किसानले र बाँकी ३१ प्रतिशत उद्योगी÷व्यवसायीले पाउने छन्। मन्त्रालयका अनुसार गाईवस्तुको दाना–चोकर बढेसँगै किसानको लागत बढेकाले दूधको मूल्य बढाइएको हो। यसअघि किसानहरुले लामो समयसम्म दूधको मूल्य नबढेको भन्दै बढाउन दबाव दिँदै आएका थिए। किसानको दबावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो।