नेपालमा खुला दिशामुक्त अभियानले सफलता पाएको छः मन्त्री यादव

आर्थिक समाचार स्वास्थ्य/शिक्षा

काठमाडौँ, ४ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा खुला दिसामुक्त अभियानले उल्लेखनीय सफलता पाएको बताउनुभएको छ ।

खानेपानी विभाग तथा अन्तर्राष्ट्रिय संस्था वाटर एडको सयुक्त आयोजनामा विश्व शौचालय दिवस, २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले नेपालले खुला दिसाको समस्यासँग लडेको र यस अभियानले उल्लेखनीय सफलता पाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “खुला दिसाको अभ्यासले स्वास्थ्यमा प्रत्यक्ष जोखिम ल्याएको थियो, पानीजन्य सङ्क्रमणले बालबालिकाको जीवन जोखिममा परेको र अन्य स्वास्थ्य जटिलता निम्त्याएको थियो । खुला दिसामुक्त अभियानले सफलता पाएको छ, अधिकांशले शौचालयको प्रयोग गर्न थालेका छन् ।”

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले सुधारिएको शौचालय प्रयोग गर्ने बढेसँगै नेपालले प्रभावकारी रूपमा पाँच वर्ष मुनिका बालबालिकामा झाडापखाला रोगको सङ्क्रमण लाग्ने दर घटाउन सफल भएको देखाएको र देशभरबाट खुला दिसा प्रथा उन्मूलन गर्ने उद्देश्यले यस अभियान सञ्चालन गरिएको मन्त्री यादवको भनाइ थियो ।

उहाँले भन्नुभयो, “सरकारको दीर्घकालीन सरसफाइ गुरुयोजनाको एक भागका रूपमा सन् २०११ मा राष्ट्रव्यापी अभियान सुरु गरिएको थियो । शौचालयमा विशेष ध्यान केन्द्रित गरी थप स्वच्छ सरसफाइ अभ्यासमा पहुँच बढाएर देशभरबाट खुला दिसा प्रथा उन्मूलन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको थियो ।”

‘एक घरः एक शौचालय’ भन्ने नाराले देशमा सन् २०१९ को सेप्टेम्बर खुला दिसामुक्त राष्ट्र बन्ने सपना साकार भएको तथा यसका लागि सबै जिल्ला र स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्री यादवको भनाइ थियो । अभियानका क्रममा देशभर ५० लाखभन्दा बढी शौचालय निर्माण गरिएको मन्त्री यादवले बताउनुभयो ।

मन्त्री यादवले शौचालय मात्रै निर्माण गरेर नहुने उल्लेख गर्दै शौचालय प्रयोग गर्ने एवं प्रयोग गरिसकेपछि साबुन पानीले हात धुनुपर्ने बानीको विकास गर्न आवश्यक रहेको बतानुभयो ।