काठमाडौँ, २३ भदौ । सैनिक आवासीय माविका ईश्वर बस्नेत र विश्व निकेतनकी सरस्वती बोहरा उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा आयोजित तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तत्वावधानमा सञ्चालित उक्त प्रतियोगिताको छात्रतर्फ पाँच किलोमिटर दौडमा ईश्वरले निर्धारित दूरी १७ मिनेट ४४ दशमलव १२ सेकेन्डमा पूरा गरे ।
जेसिस माविका सागर श्रेष्ठले १८ मिनेट १४ दशमलव ८० सेकेन्ड तथा मनोहर माविका सन्तोष नापितले १८ मिनेट ४२ दशमलव ७१ सेकेन्डमा सो दूरी पूरा गरी क्रमशः दोस्रो र तेस्रो भए । उक्त दौडमा नेपालय एजुकेसनका युनिश आलेमगर चौथो, सैनिक स्कूलका नवीन्द्र कार्की पाँचौँ, आदर्श माविका उदय लिम्बू छैटौँ र प्रवीण लिम्बू सातौँ, सीतापाइलाका नितेश घर्तीमगर आठौँ तथा सैनिक स्कूलका प्रवीणराज अधिकारी नवौँ र सुरेन्द्र परियार दसौँ स्थान हासिल गरे ।
यस्तै छात्रातर्फ तीन किलोमिटर दूरी सरस्वतीले १५ मिनेट ५० सेकेन्डमा पूरा गरिन् । यस्तै विजेश्वर ज्ञान मन्दिरकी कुशलता तामाङले १६ मिनेट ४ सेकेन्ड र स्वेच्छा बलामी मगरले १६ मिनेट १६ सेकेन्डमा सो दूरी पूरा गरिन् । पञ्चकन्या माविकी सानु घतानी, जेसिजकी रेस्टिना सिटीखु, ज्ञानकुञ्ज माविकी श्रयस्का सिल्पकार, सैनिक स्कूलकी सुप्रिया भण्डारी, ज्ञानकुञ्जकी प्रकृति सुवाल तथा जेसिजकी स्वागता खाइजु र ऊर्जा मधिकर्मी क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ भए । पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः रु १० हजार, रु सात हजार रु पाँच हजार र रु चार हजार पुरस्कार प्राप्त गरे । अन्य सबैले रु तीन हजार पुरस्कार पाए । विजेतालाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्य इन्दिरा निरौलालगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । चालीसौँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित उक्त प्रतियोगितामा ५७२ विद्यार्थी सहभागी थिए ।
