काठमाडौँ, १६ पुसः प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङमा मनाइएको छ । ती जिल्लाबाट राजधानी आएर बसोबास गर्नेले पनि यो पर्व मनाएका छन् ।
ल्होसारहरुमध्येमा तोल ल्होसारलाई सबैभन्दा पुरानो मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारकै विधि अनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भएपनि दिन मात्र फरक पर्ने गरेको छ । तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा समेत अहिले पनि मनाउने गरिएको छ । ल्हो को अर्थ वर्ष र सारको अर्थ नयाँ भन्ने बुझिन्छ ।
हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पिठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिई यस पर्वका अवसरमा आज बाबरी रोटी, फुरौला, कन्दमूललगायत सात्विक खाना खाने गरिन्छ ।
