टक्सार (भोजपुर), १ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्र चलायमान बनाउन जरुरी रहेको बताउनुभएको छ ।
‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवद्र्धन गर्ने उद्देश्यका साथ भोजपुर र खोटाङको सिमाना चखेवाभञ्ज्याङमा आजदेखि सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले संस्कार र संस्कृतिले आफ्नै ऐतिहासिकता बोकेको हुनाले त्यसको संरक्षण तथा सम्वद्र्धनमा लाग्न आवश्यक भएको बताउनुभयो ।
पुर्खाहरुको जीवन पद्धति र संस्कारसंस्कृतिको अनुशरण गर्दै अगाडि बढ्न सकिएमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मन्त्री पाण्डेको भनाइ थियो । छिमेकी मुलुक भारत र चीनले पनि नेपालको प्रकृति र संस्कृतिप्रति आस्था राख्ने गरेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनको विकासमा तीनवटै सरकारका बीचमा सहकार्य र समन्वय आवश्यक देखिएको बताउनुभयो । मुन्दुम पदमार्गले नयाँ सम्भावना खोलेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसको लक्ष्य तथा परिकल्पनालाई सफल बनाउन सरकार र मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
हवाई उडानका लागि नेपाली आकाश सुरक्षित रहेको भन्दै मन्त्री पाण्डेले उड्डयनको क्षेत्रलाई गतिशील बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सङ्घीय सांसद सुदन किरातीले मुन्दुम पदमार्गको विकास आवाश्यक रहेकामा जोड दिँदै त्यसका लागि बजेटको व्यवस्थापन गर्न मन्त्री पाण्डेसँग आग्रह गर्नुभयो ।
एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ घोषणा गरी विविध कार्यक्रम तय गरेको अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटन प्रवद्र्धनका साथै कृषि उत्पादनलाई विशेष जोड दिँदै बृहत् मेलाको आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना, चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको व्यवस्थापन र मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको समन्वयमा यही माघ ५ गतेसम्म मेला सञ्चालन हुने छ ।
