‘चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ तुल्याउँछ’

मुख्य समाचार राजनीति

काठमाडौँ, १७ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन सहयोग पुर्याउने बताउनुभएको छ ।

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले जनताको लामो समयदेखिको सङ्घर्षबाट प्राप्त अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने विश्वस व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, आर्थिक तथा सामाजिक रूपान्तरणका गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबै प्रकारका विभेदको अन्त्य गरी वैज्ञानिक समाजवाद कार्यान्वयनको खाँचो औँल्याउनुभयो ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सबै समुदायले मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

सोनाम ल्होसारको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नका लागि आफ्नै रीति र परम्पराअनुसार पर्वहरू मनाउँदै आएको उल्लेख गर्नुभएको छ ।

नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको बताउँदै उहाँले मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सबैमा प्रेरणा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।