गोडैता नगरपालिकाद्वारा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

आर्थिक समाचार

बरहथवा (सर्लाही), १८ माघः सर्लाहीको गोडैता नगरपालिकाले पालिकाका ९१ महिला स्वास्थ्य स्वयंसेवकलाई साइकल वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच पालिकाले स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरण तथा १० छात्रछात्रालाई नगदसहित पुरस्कृत गरेको हो । गोडैता –३, स्थित जनता माध्यमिक विद्यालय भगवतीपुरमा आयोजित कार्यक्रममा प्रोत्साहन स्वरुप ९१ जना महिला स्वास्थ्य स्वयंसेवकलाई भेला पारेर साइकल वितरण गरिएको नगर प्रमुख देवेन्द्र यादवले जानकारी दिनुभयो ।

सोही कार्यक्रमबीच गत एसइई परीक्षामा सामुदायिक विद्यालयबाट ३.६० माथि जिपिए प्राप्त गर्ने १० जना छात्रछात्रालाई जनही रु २५ हजार नगदसहित पुरस्कृत गरिएको उहाँले बताउनुभयो । पालिका अन्तरगत वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता–८ बाट आशुतोषकुमार झा, विशालकुमार झा, आलोककुमार कुशवाहा, अनुकुशवाहा सिंह, सुदीक्षा प्रजापति, आदित्यनारायण झा, निश्चल प्रतीक र पल्लवीकुमारी तथा नारायणहरि माध्यमिक विद्यालय गोडैता नगरपालिका–१०, सिसौटियाबाट सुशान्त यादव र सुस्मिताकुमारी यादव पुरस्कृत हुनुभएको हो ।

महिला स्वास्थ्य स्वयंसेवकलाई गत वर्ष नै साइकल उपलब्ध गराउने तयारी गरेको भएपनि प्रक्रिया पूरा गर्न ढिला भएको मेयर यादवको भनाइ थियो । निकै न्यून सेवा सुविधामा काम गर्दै आउनुपरेको आफूहरूलाई पालिकाले योगदानको कदर गर्दै सम्मान गरेको भन्दै स्वयंसेवकले खुसी व्यक्त गर्नुभयो । यस पालिकाले महिला स्वास्थ्य स्वयम् सेविकालाई सरकारले दिने मासिक एक हजार रूपियाँमा दुई हजार रूपियाँ थप गरेर उपलब्ध गराउने गरेको छ ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उपप्रमुख अन्जना कुशवाहा, जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद साहलगायतको आतिथ्यता रहेको पालिकाले जनाएको हो ।