पाटन (ललितपुर), २९ माघ : विकराल बन्दै गएको बेरोजगारी समस्या उद्यमशीलतामार्फत हल गर्न सकिने भएकाले त्यसतर्फ तीनै तहको सरकारको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।
ललितपुर महानगरपालिकाले आयोजना गरेको दुई दिने ‘स्टार्टअप र उद्यमशीलता सङ्गोष्ठी’ उद्घाटन समारोहका वक्ताहरूले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्नका लागि नीति एवं बजेटको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले स्थानीयस्तरमा युवालाई उद्यममा लाग्ने उपयुक्त वातावरण सिर्जना गर्न सबै तहका सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
“नवप्रवर्तन र उद्यमशीलतामार्फत कृषि र वनका क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “बागमती प्रदेशबाट एक हजार युवालाई लक्षित गरेर सूचना प्रविधि क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।”
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङ्गले दक्षिण कोरिया नेपालको विकास यात्रामा सहकार्य, समन्वय र सहयोग आदानप्रदान गर्दै विश्वको एउटा राम्रो साथी बन्न चाहेको बताउनुभयो । उहाँले उद्यमशीलता विकास गरेर देशमा रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पालिकास्तरमा भएको स्टार्टअप र उद्यमशिलताको यो कार्यक्रम देशभरकै पहिलो अभियान भएको जिकिर गर्नुभयो । ललितपुर महानगरले स्टार्टअप सेन्टर सञ्चालन गर्ने तयारी गरेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिका र कोरियाको ग्योङसाङ नेशनल विश्वविद्यालयबीच स्टार्टअप र उद्यमशिलताका शिक्षा, ज्ञान, सीप र कार्यक्रम आदानप्रदान गर्ने विषयको सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।
