विकास र समृद्धिका लागि लगानी भित्र्याउने पन्तको घोषणा

प्रवास समाचार

काठमाडौँ, ३ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षका उम्मेदवार कुमार पन्तले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने घोषणा गर्नुभएको छ । सङ्घको अध्यक्षका लागि आज उम्मेदवारी घोषणा गर्दै उहाँले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामूहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा सानादेखि ठूला लगानीलाई अभियानमा समाहित गरी रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने बताउनुभयो । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहल अघि बढाउने उहाँको उद्घोष थियो । पन्तले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सङ्घलाई कुनै पनि राजनीतिक छत्रछायाबाट मुक्त गरी विशुद्ध गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नेपाल बाहिर रहेको सबै नेपालीलाई समेट्ने बताउनुभयो । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले अत्यन्त न्यून ज्यालामा काम गर्नुपरेको अवस्था आफूले नजिकबाट नियालेको उल्लेख गर्दै पन्तले सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

पन्तको उम्मेदवारीलाई संयुक्त अरब इमिरेट्स, साउदी अरिबिया, मलेसियालगायत मुलुकका गैरआवासीय नेपालीले समर्थन गरेका छन् । सन् १९७६ मा गोरखाको फुजेलमा जन्मनुभएका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गर्नुभएको छ । उहाँले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गर्नुभएको छ ।

उहाँ अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा उहाँको यो दोस्रो कार्यकाल हो । सन् २००४ मा एनआरएन अभियानमा संलग्न हुुनभएको उहाँ अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रको संयोजक हुनुभएको थियो । सन् २००९–२०११ मा आइसिसी सदस्य भएसँगै उहाँले युरोप क्षेत्रको संयोजकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसपछि उहाँ सन् २०१३–२०१५ मा सङ्घको महासचिव हुनुभयो । २०१५ यता उहाँ आइसिसी उपाध्यक्ष हुनुुहुन्छ ।

विभिन्न देशमा छरिएका नेपालीलाई सङ्गठित, राष्ट्रिय समन्वय परिषद् स्थापना र सञ्चालनमा समन्वय, निष्क्रिय र समस्याग्रस्त एनसिसीलाई सक्रिय बनाउन सफल भूमिका खेलेका कारण पनि उहाँ विश्वभरिका एनआरएनमाझ परिचित हुनुहुन्छ । नेपालमा एनआरएनमैत्री नीति, नियम बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ ।

भूकम्पलगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माणलगायत परोपकारी कार्यको संयोजन गरी पन्त आफैँ कार्यक्षेत्रमा समेत खटिनुभएको थियो । स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय हुनुहुन्छ । विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी जानुभएका उहाँ जर्मनीको फ्र्याङ्कफर्टमा बसोबास गर्नुहुन्छ ।