बरहथवा (सर्लाही), १७ फागुन : मलङ्गवामा प्रथम बज्जिका महोत्सव आज सम्पन्न भएको छ । मलङ्गवा नगरपालिकाको ३८औँ स्थापना दिवसका अवसरमा बज्जिका भाषा संरक्षणको उद्देश्यसहित सो महोत्सव आयोजना गरिएको हो ।
मधेस प्रदेशमा धेरै बोलिनेमा तेस्रो स्थनमा रहेको बज्जिका भाषाको संरक्षण गर्न महोत्सवबाट मद्दत पुग्ने आयोजक मलङ्गवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादवले बताउनुभयो । बज्जिका भाषा महोत्सवका अवसरमा भाषा संरक्षणमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । सो महोत्सव बज्जिका साहित्य समाज सर्लाहीको सहकार्यमा आयोजना गरिएको हो ।
महोत्सवका अवसरमा विभिन्न सर्जकले बज्जिका भाषाका कविता, गजललगायत साहित्य सृजना प्रस्तुत गरेका थिए । महोत्सवमा नेपाल तथा भारतका सर्जकको उपस्थिति रहेको थियो । बज्जिका भाषा संरक्षणमा योगदान पुर्याउने सञ्चारकर्मी, साहित्यकारलगायतलाई सम्मान गरिएको बज्जिका भाषा साहित्य समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले बताउनुभयो ।
महोत्सवका अवसरमा बज्जिका भाषा संरक्षणमा योगदान पुर्याएकामा मलङ्गवा नगरपालिकाका प्रमुख यादव, सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य सञ्जयकुमार यादव, सञ्चारकर्मी राजीव साह, कृष्ण सिंह, मनोज यादव र राजु श्रीवास्तवलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा भारतबाट आउनुभएका कवि मणिभूषणसिंह अकेला, अवधेश प्रदित, डा भिबालक राय (प्रभाकर), डा सञ्जय विजित्वर, रामकिशोर सिंह र नेपालका रामविश्वास महतो, विमलेश कुमार, सञ्जय साह (मित्र), अजय कुश्वाहलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा सञ्जय साह (मित्र), विश्वराज अधिकारी, रामविश्वास राय, सिद्धान्तकुमार चौधरी, रेणु गुप्ता, रामचन्द्र महतो, किशुनदयाल श्रीकृष्ण र सञ्जय सुदामाले संयुक्त रूपमा लेख्नुभएको ‘बज्जिका लघुकथा’समेत विमोचन गरिएको थियो ।
