काठमाडौँ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । काठमाडौँको याक एण्ड यति हाेटलमा सोमबार र मंगलबारगरी दुई दिनसम्म चलेको पाँचौँ राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो । आन्तरिक रोजगार प्रवर्धन दशक २०८२/०८३- २०९१/०९२ लाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ सम्मेलनबाट १६ बुँदे घोषणापत्र जारी गरेको हो ।सम्मेलनको समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्मेलन सहज रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे । “उत्पादन र उत्पादकत्व बिस्तार आन्तरिक रोजगारीको दिगो आधार” नारा सहित २०८१ फागुन २६ र २७ गते आयोजना भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको रोजगारी र आगामी कार्यदिशा, कृषिमा उत्पादन र उत्पादकत्व अभिवृद्धि, उद्योग क्षेत्रको विकास र विस्तार, रोजगारदाताका समस्या, पर्यटन प्रवर्धन, नेपालको रोजगार सेवामा सामाजिक न्याय, रोजगारमूलक शिक्षा, उद्यमशील बनाउन जोड दिएका थिए। श्रम बजारको माग अनुरूपको सीप विकासको आवश्यकता लगायतका विषयमा विचार व्यक्त गरेका थिए । आन्तरिक रोजगार अभिवृद्धि गर्न र सम्मेलनबाट प्राप्त सुझावहरूलाई नेपाल सरकारले ग्रहण गर्ने बताएका थिए । सम्मेलनमा प्रधानमन्त्री ओलीले रुपान्तरणकारी “आन्तरिक रोजगार प्रवर्धन दशक (आव २०८२/८३-२०९१/९२) को घोषणा गरेका थिए ।
सम्मेलनमा सम्बन्धित विषयको सीप तालिम तथा रोजगारी प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र विभिन्न १० वटा रोजगारदाता संस्थाबिच प्रधानमन्त्री रोजगार कार्यक्रम र स्विस कन्ट्याक्टबिच श्रम संसार पोर्टलको विस्तार गर्ने विषयमा तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषयमा सामाजिक सुरक्षा कोष र विभिन्न सातवटा रोजगारदाताबिच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

