पत्रकार ऋषि थपलिया ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

आर्थिक समाचार

काठमाडौं । पत्रकार ऋषि थपलिया युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन् । पाँचौँ एपिक अवार्डको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको हातबाट थपलिया सम्मानित भएका हुन् ।

सम्मानित भएका थपलिया प्राइम टिभीबाट प्रसारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’को प्रोड्युसर तथा डाइरेक्टर हुन् । वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रमको प्रोड्युसर थपलियाले पत्रकारितामा एक दशकभन्दा बढी समय बिताइसकेका छन् ।

थपलियाले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ । ‘तपाईंले राजनीतिक, सामाजिक, आर्थिक र समसामयिक विषयमा कलम चलाएर समाजलाई सूचनाको माध्यमबाट दिशानिर्देश गराउँदै आउनुभएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेर आम दर्शक र श्रोताबीच लोकप्रिय हुनुहुन्छ ।’ सम्मान पत्रमा लेखिएको छ ।

थपलियाले यसअघि हिमालय टेलिभिजन, नेपाल आवाज म्यागजिन, एशिया सञ्चार, सूत्र न्यूज, क्यानडा नेपाल, नेपाली पत्रिका, नेपाली पब्लिक लगायत विभिन्न सञ्चार माध्यममा काम गरिसकेका छन् । त्यसो त लाइभ रिपोर्टिङ र अन्तर्वार्ता मार्फत समाजमा चेतना फैलाउन थपलिया अब्बल छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित निगुपुखुमा विशेष कार्यक्रम आयोजना गरी एपिक नेपाल म्युजिक प्रालिले पाँचौँ एपिक अवार्ड-२०८१ को अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेमा प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, वरिष्ठ अभिनेत्री वसुन्धारा भुसाल, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा र अभिनेता पूर्णविक्रम शाह (पल) रहेका छन् ।