काठमाडौं, ८ असोज । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि काङ्ग्रेस सधैँ अग्रसर रहने बताउनुभएको छ । नेपाल प्रेस युनियनको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले अभिव्यक्ति स्वतन्त्रता व्यक्तिको भन्दा पनि राष्ट्रकै आवश्यकता भएको बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि काङ्ग्रेसले आवाज उठाउँदै आएको सहमहामन्त्री महतले बताउनुभयो । मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउन सक्ने देखिएकाले काङ्ग्रेसले त्यस्तो हुन नदिने उहाँको भनाइ थियो । सरकारले कुराभन्दा काम गर्नुपर्ने र जनतालाई त्यसको आभास गराउनुपर्ने नेता महतले बताउनुभयो । “सरकारका गलत कामको विरोध गर्न काङ्ग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको हो”, उहाँले भन्नुभयो, “तेस्रो चरणको कार्यक्रम पुसदेखि शुरु गछौँ ।” कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललगायतले पत्रकारिता स्वस्थ, मर्यादित र व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।
कलैया–नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले संविधान संशोधनमार्फत तराई मधेशको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको आज बारा सदरमुकाम कलैयामा समापन गर्दै उहाँले नेपालको संविधान सर्वोत्कृष्ट रहे पनि छुटेका जायज माग सम्बोधन गर्नुपर्र्ने बताउनुभयो ।
नेता महतले सबैको स्वीकार्य हुने संविधानको कल्पना गर्नमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । तराई मधेशका जनताको अधिकार दिलाउन मधेशवादी दल चुकेको उहाँको आरोप थियो । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उहाँको भनाइ थियो । कार्यक्रममा काङ्ग्रेस नेत्री कलावती पासवान, नेता राधेन्द्र यादव, लालबाबु सिंह, प्रदेशसभा सदस्य शोभा लामा, जिल्ला कार्य समितिका सभापति जयचन्द्र चौरसियालगायत उपस्थित हुनुहुन्थ्यो ।
काङ्ग्रेसलाई सशक्त बनाउनुपर्छ ः खाण
प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसका प्रमुख सेचतक बालकृष्ण खाणले पार्टीलाई सशक्त बनाउन गाउँगाउँ पुग्नुपर्ने बताउनुभएको छ । पार्टीको दोस्रो जागरण अभियानको समापनमा आज यहाँ आयोजना गरिएको सभामा उहाँले अब काङ्ग्रेस जाग्दै सरकारको विकल्पका रूपमा तयार हुनुपर्ने बताउनुभयो । दुई तिहाइको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको नेता खाणको आरोप थियो । “काङ्ग्रेसले सरकारका गलत गतिविधि गाउँगाउँसम्म पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा काङ्ग्रेस नेताहरू धनलक्ष्मी श्रेष्ठ, रामचन्द्र अर्याल, काङ्ग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
काङ्ग्रेस सच्चिएर अघि बढ्नुको विकल्प छैन ः घर्ती
तनहुँ–काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टी सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । काङ्ग्रेस जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको समापन कार्यक्रममा उहाँले काङ्ग्रेस केन्द्रदेखि वडा तहसम्म सुध्रिन आवश्यक रहेको बताउनुभयो ।
“सङ्गठन गर्ने बेला आएकाले सबै एकजुट भएर अघि बढ्न जरुरी छ”, नेता घर्तीले भन्नुभयो । पार्टीभित्र नमिलेका कुरा मिलाउँदै एकमत भई अघि बढ्नुको विकल्प नभएको उहाँको भनाइ थियो । काङ्ग्रेसले गत भदौ २४ गतेदेखि दोस्रो चरणको अभियान सञ्चालन गरेको हो । कार्यक्रममा केन्द्रीय सदस्यद्वय अमरराज कैनी र रामचन्द्र पोख्रेल, जिल्ला कार्य समितिका कार्यवाहक सभापति जीतप्रकाश आलेलगायत नेताले पार्टीलाई सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
