खेल विकासको लागि पूर्वाधार प्राथमिकताः नेता डा महत

खेलकुद मुख्य समाचार

त्रिशूली (नुवाकोट), २१ चैतः नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

नुवाकोटको सूर्यगढी गाउँपालिमा आज आयोजित पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल र खेलाडीको उत्पादनका लागि खेल मैदानसहितको पूर्वाधार आवश्यकता रहेको बताउनुभयो ।

“खेल मैदानको अभावले खेलाडीले क्षमता प्रदर्शन र खेल पर्यटनको वृद्धि गराउन सकिएको छैन”, उहाँले भन्नुभयो, “सीमित स्रोतसाधन तथा सेवा र सुविधामा खेलाडीबाट भइरहेको प्रदर्शन सन्तोषजनक छ । तीन तहमा रहेका सरकारले रङ्गशाला, कभर्डहललगायत भौतिक संरचना निर्माणमा प्राथमिकता दिनुपर्छ ।” खेल क्षेत्रको विकासले देशलाई एक ढिक्का विश्वसामू चिनाउन र खेल पर्यटनमार्फत आर्थिक उपार्जन बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।