वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्नेमा जोड

आर्थिक प्रवास वैदेशिक रोजगार समाचार

काठमाडौँ, ५ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताउनुभएको हो ।

महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्नुका साथै रोजगारीको अवसरसमेत गुम्दै गएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि कांग्रेसले ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरेको उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा जोड दिनुभयो । “अहिले नेपाली कांग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौँ, त्यो अभियानको एउटा अभिन्न अङ्ग भनेको एउटा वैदेशिक रोजगारी हो”, उहाँले भन्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा सङ्घ र एसोसिएसन लाग्नुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले स्वदेशमा रोजगारी नभएर मानिस विदेश जाने गरेको भन्दै अब स्वदेशमै रोजगारी सृजना गर्ने वातावरणमा सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङ, एसोसिएसनका अध्यक्ष दीपक थापालगायतले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधानमा हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।