भारतको सहयोगमा विद्यालय भवनको शिलान्यास

आर्थिक प्रवास समाचार स्वास्थ्य/शिक्षा

काठमाडौँ, ५ वैशाख : भारत सरकारको सहयोगमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले आज संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा उहाँहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । साथै उहाँहरूले निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु दुई करोड ८१ लाख परियोजना लागतमा विद्यालयको भवन निर्माण हुनेछ । भारत सरकारको अनुदान तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र सुन्दरहरैँचा नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

उक्त विद्यालय सन् १९६५ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीहरू छन् जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन् । सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र चार सय ९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये ९१ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् जसमा मोरङमा १६ वटा परियोजनाहरू रहेका छन् ।