काठमाडौँ, १२ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई काङ्ग्रेसले आकर्षित गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम’मा उहाँले भन्नुभयो, “वर्तमान सरकार जनताको हितमा काम गर्न नसकेकाले धेरै जनता रुष्ट भएका छन्, ती रुष्ट जनतालाई काङ्ग्रेसले आकर्षित गर्न सक्नुपर्दछ ।” वरिष्ठ नेता पौडेलले अहिलेको समयमा काङ्ग्रेसका नेता तथा कार्यकर्ता अल्छि भएर बस्न नहुने बताउँदै संविधान निर्माणको नेतृत्व गरेको काङ्ग्रेसले मात्र देशको विकास गर्न सक्ने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीमा सिद्धान्तको टुङ्गो नभएकाले ‘सी’ पथको छलफलमा लागेको आरोप लगाउनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीभित्र देखिएको समस्या समाधानमा काङ्ग्रेस केन्द्रीय समिति लागेको बताउनुभयो । “खाली भएको भ्रातृ तथा शुभेच्छुक संस्थाले चाँडै पूर्णता पाउँछ”, उहाँले भन्नुभयो ।
नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले वर्तमान सरकार सत्ताको दुरुपयोग गरेर गाउँमा रहेका काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिने काममा लागेको आरोप लगाउँदै लमजुङ काङ्ग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य मनकुमारी गुरुङ, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष सुमन बसौलालगायतले स्थानीय तह बलियो भए मात्र पार्टी बलियो हुने भएकाले स्थानीय तह बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी एक अर्को कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उर्जा बलियो आधार भएको बताउनुभएको छ । ‘तनहुँ–काठमाडौँ इन्टल्याक्च्युअल डेमोक्रेटिक सोसाइटी नेपाल’द्वारा राजधानीमा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले जनतामा आशा जगाउने गरी मुलुक निर्माणको खाकासहित अघि बढ्नुपर्ने बताउनुभयो । “काङ्ग्रेसले जनताको निराशा र अन्योललाई चिर्न आशा जगाउने कार्यक्रम ल्याउनु पर्छ”, उहाँले भन्नुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लोकतन्त्रमा हारजित स्वभाविक भए पनि काङ्ग्रेसले विगतको निर्वाचन किन हा¥यो भन्ने कुराको लेखाजोखा र विश्लेष्ण गनुपर्ने बताउनुभयो । संविधानसभा सदस्य रमचन्द्र पोख्रेलले काङ्ग्रेसले बुद्धिजिवीहरूलाई कार्यकर्ताको रूपमा नभइ चिन्तक र विश्लेषकका रूपमा व्यवहार गरी उहाँहरूका सुझावलाई लिनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष यदुनाथ खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा संविधानसभा सदस्य नागेन्द्र कुमाल, वरिष्ठ पत्रकार कृष्ण केसी, नेवि सङ्घका नेता आनन्द त्रिपाठी, दीपक भट्टराईलगायतले पार्टीलाई एकढिक्का भइ अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
