जुम्ला हिमाका सबै वडा बालविवाहमुक्त घोषणा

आर्थिक समाचार

कर्णाली, ३० वैशाखः जुम्लाको सिञ्जा दरामा पर्ने हिमा गाउँपालिकाका सबै वडाहरु बालविवाहमुक्त घोषणा भएका छन् । हिमामा छ वडा रहेका छन् ।

हिमा गाउँपालिकावासीले आजदेखि गाउँपालिकाको कुनै पनि वडामा बालविवाह नगर्ने र बालविवाह हुन नदिने प्रतिबद्धता गरेको उक्त गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । यसअघि भने गाउँपालिकाका सबै वडामा बालविवाहको जटिल समस्या रहेको उहाँले बताउनुभयो । अध्यक्ष शाहीले भन्नुभयो, “पालिकाभित्रका सबै वडाहरु बालविवाहमुक्त भइसकेका छन् । अब पालिकास्तरमा चाहिने आवश्यक सूचकहरु पूरा गरेर पालिका नै बालविवाहमुक्त हुने तयारीमा छौँ ।”

उहाँका अनुसार हिमाले निकट भविष्यमै सिङ्गो पालिका नै बालविवाहमुक्त घोषणा गर्नेछ । २० वर्ष नपुग्दै आमा बन्नेहरु धेरै हुँदै जाँदा हिमाले सन् २०१८ देखि नै बालविवाह अपराध भएको ठहर गर्दै न्यूनीकरणको अभियान चलाएको थियो । “किशोरी अवस्थामा विवाह गर्नेहरुको अहिले शारीरिक र मानसिक अवस्था अहिले पनि नाजुक छ, उनीहरुमा गरिबी छ, ती असर प्रत्यक्ष रुपमा देखेपछि किशोरकिशोरीहरु बालविवाह रोक्न अभियान चलाउन सुरु गरिएको थियो”, उहाँले भन्नुभयो ।

पछिल्लो समय हिमाका गाउँबस्तीमा बालविवाह अन्त्यको लहर नै चलेको छ । युवायुवती यसमा सक्रिय हुँदै गएका छन् । बालविवाह रोक्न किशोर किशोरी सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । आमासमूह, धर्मगुरुहरु, पुरोहितदेखि बुढापाकासमेत बालविवाह गर्दा हुने हानिनोक्सानीबारेमा सजग छन् ।

गाउँबस्तीमा बालविवाह गर्दा हुने बेफाइदाका कक्षाहरु, अन्तरक्रिया, किशोरी शिक्षा, अभिभावक र समुदायका अगुवाहरु बीचको छलफल, बालविवाहले देखिने सामाजिक र शारीरिक समस्याका बारेमा पटकपटक छलफल हुने गरेको थियो । बालविवाह रोक्न यहाँका जनप्रतिनिधि, युवा क्लब, महिला समूहले जागरण अभियान नै चलाउँदै आएका छन् ।