खोटाङ, ३१ वैशाखः नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलमा आयोजना गरेको ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङसँगको सहकार्यमा खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले छ दशमलव पाँच अङ्क जोड्दै प्रथम स्थान ओगट्नुभएको हो ।
सात राउन्डको प्रतियोगितामा समान साढे पाँच अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो हुनुभएको छ । यसैगरी, रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ हुनुभएको प्रतियोगिताका सहजकर्ता बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभएको छ ।
विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार तथा छैटौँदेखि दशौँसम्मका खेलाडीलाई जनही नगद रु चार÷चार हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित प्रतियोगितामा अनरेटेट, भेट्रान, जिल्ला प्रथम, १६ वर्षमुनिकाको सर्वोत्कृष्ट तथा नगर प्रथमसमेत चयन गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।
पाँच दिनदेखि जारी महोत्सवमा खुला पुरुष तथा खुला जुनियर महिला÷पुरुष टेबलटेनिस प्रतियोगिता पनि भइरहेको छ । खुला पुरुष टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् ।
