गण्डकी, १ जेठ : गण्डकी र बागमती प्रदेश सरकारबीच श्रम, रोजगार र उद्यम प्रवर्द्धनसम्बन्धी काम र नीतिगत व्यवस्थाबारे सिकाइ र अनुभव आदनप्रदान गरिएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा दुवै प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा अधिकारीहरूबीच उक्त विषयमा छलफल भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । “गण्डकी प्रदेश सरकार युवालाई सीप सिकाएर स्वदेशमै अवसर सृजना गर्ने अभियानमा छ । सीप विकास तालिम केन्द्र र व्यावसायिक तालिम प्रतिष्ठानमार्फत सीपमूलक तालिम दिइरहेका छौँ”, उहाँले भन्नुभयो ।
मन्त्री थापाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गण्डकी सरकार कानुन निर्माण चरणमा रहेको उल्लेख गर्नुभयो । व्यावसायिक क्षेत्रमा जनशक्तिको अभाव भएको बताउँदै उहाँले सीपमूलक शिक्षा र उद्यममैत्री वातावरणले वैदेशिक रोजगारीकै कारण देखिएका सामाजिक असन्तुलनलाई चिर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारले गरेका राम्रा कामको उचित प्रचारप्रसार नहुँदा पनि प्रदेशको औचित्यमाथि प्रश्न उठेको बताउनुभयो । “हामीले गरेका राम्रा अभ्यासलाई जनतासामु लैजानै पर्छ, गण्डकी प्रदेशका राम्रा पक्षहरू बागमतीले सिक्न सक्छ र बागमतीका असल अभ्यास गण्डकीले पनि लिनुपर्छ”, उहाँले भन्नुभयो ।
मन्त्री महर्जनले रोजगारी सृजनामा केन्द्रित बजेट र मानव संसाधन विकासमा केन्द्रित नीति–कार्यक्रम अबको अपरिहार्यता रहेको बताउनुभयो । रोजगारी सृजनालाई प्राथमिकता दिँदै भौतिकभन्दा मानव विकासमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार र बागमती प्रदेश सरकारले श्रम र रोजगारीको क्षेत्रमा सम्पादन गरेका काम र लक्षित कार्यक्रमबारे संक्षिप्त प्रगति विवरण प्रस्तुत गरिएको थियो । दुवै प्रदेशका सचिव, सम्बन्धित मन्त्रालयका निर्देशक तथा कर्मचारीलगायत उपस्थित उक्त कार्यक्रममा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास गर्ने र प्रदेशस्तरमै रोजगारी सृजना गर्नेलगायत विषयमा छलफल तथा अनुभव आदनप्रदान गरिएको थियो ।
