‘कर्मचारीको वृत्तिविकासमा सरकार सकारात्मक छ’

प्रशासन समाचार

सुदूरपश्चिम, २ जेठः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

नेपाल नगरपालिका सङ्घले आज धनगढीमा आयोजना गरेको ‘नगर सुशासन तथा वित्तीय अनुशासन’सम्बन्धी अन्तरक्रियामा उहाँले उक्त विधेयकमाथि सबै प्रक्रिया पूरा गरी प्रदेशसभाबाट पारित गराउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले कर्मचारीका प्रतिनिधिसँगको छलफलबाट उहाँहरूको वृत्तिविकास सकारात्मक रूपले हुनेगरी सरकारले इमान्दारिताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको वातावरण निर्माण गर्नु जरुरी छ ।”

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा विचाराधीन छ । ऐन यथाशीघ्र जारी गर्न माग गर्दै स्थानीय तहका कर्मचारीले केही दिनदेखि गरिरहेको प्रदर्शनका कारण स्थानीय तहको सेवा प्रभावित बन्दै गएको छ ।

यसैबीच, सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान, २०७२ बमोजिम यही जेठ ११ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ऐन जारी गरियोस् भन्ने विषयमा कर्मचारीबाट व्यक्त धारणाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

मुख्यमन्त्रीले विज्ञप्तिमा विधेयक प्रदेशसभामा दर्ता भई पारित हुने प्रक्रियामा रहेको र स्थानीय तहका कर्मचारीको वृत्तिविकासका लागि सरकार सकारात्मक रहेकाले कर्मचारीले गरिरहेको प्रदर्शनका सबै कार्यक्रम फिर्ता लिई आ–आफ्नो पदीय जिम्मेवारी सम्हाल्न अनुरोध गर्नुभएको छ ।