गण्डकी, ११ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बहुवर्षे र गौरवका आयोजना सम्पन्न गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ ।
गण्डकी प्रदेशसभाको आजको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेटमा नयाँ योजनाको प्रवेश कम हुने बताउँदै बहुवर्षे र गौरवका आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुुभयो ।
सीमित स्रोतसाधनका कारण प्रदेशमा सबै अपेक्षा पूरा गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश मात्र नभई आर्थिक अवस्थाका कारण सङ्घले पनि अपेक्षा पूरा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
बहुवर्षे योजनाको दायित्वले चेपिएको र योजनाको भुक्तानी दिन सक्ने अवस्था पनि नरहेको भन्दै उहाँले चालु आर्थिक वर्षमा सङ्घ सरकारले झन्डै रु दुुई अर्ब वित्तीय समानीकरण अनुदान नदिँदाको बोझले प्रदेश थिचिएको उल्लेख गर्नुुभयो । रु ५० लाखसम्ममा सकिने खानेपानीका योजना भए त्यसलाई पूरा गर्ने र आउने वर्षमा सक्नेगरी बहुवर्षे सडकका योजनामा बजेट विनियोजन गर्ने उहाँको भनाइ छ ।
प्रदेशलाई आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको नारालाई साकार पार्न आत्मनिर्भरतर्फ प्रवेश गर्नुपर्ने भएकाले विद्युत्, खानी तथा खनिज, घरेलु मदिरा, वन, राइड शेयरिङ नियमावाली अघि ल्याइएको, यसले राजस्वको दायरा बढाउन सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताउनुुभयो ।
चालु अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटसँगै हिउँदे अधिवेशनमा पेस भएर दफाबार छलफलमा रहेका १० विधेयक पारितका लागि सदन र संसदीय समितिको पूर्ण सहयोग रहने उहाँले विश्वास व्यक्त गर्नुुभयो । राजनीतिक स्थिरताका लागि प्रमुख दुुई दलबीच गठबन्धन सरकार बनेको र यो २०८४ सम्म नै जाने उहाँले स्पष्ट पार्नुुभयो ।
गण्डकी प्रदेशसभा एमाले संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री खगराज अधिकारीले कांग्रेस र एमालेको गठबन्धन सरकार राजनीतिक स्थिरतासँगै राष्ट्रको समृद्धि र विकासका लागि भएको बताउनुुभयो । सरकार आफ्नै जनअपेक्षालाई सम्बोधन गर्ने गरी निरन्तर अघि बढिरहेको उहाँले बताउनुुभयो ।
सबै दलको सहमतिका आधारमा संविधान संशोधन हुने नेता अधिकारीले स्पष्ट पार्नुुभयो । प्रदेशको समग्र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।
