गोरखा, १३ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाको नव निर्मित भवनको आज उद्घाटन गर्दै उहाँले गणतन्त्रपछि केही भएन भन्नेहरुले गणतन्त्रअघिको अवस्थालाई राम्रोसँग बुझ्न सक्नुपर्ने बताउनुभयो ।
“केही राजनीतिक कारणले गर्दा जति हुनुपर्थ्यो त्यति भएन नै होला, जति हुनसक्थ्यो त्यति पनि भएन होला,” उहाँले भन्नुभयो, “तर केही भएन भनेर भाष्य निर्माण गर्न खोजेर केही प्रतिगामीले राजतन्त्रको कुरा गरेका छन्, त्यो हामीले बुझ्नुपर्छ ।”
सत्ता स्वार्थका लागि आफुले गुमाएको सत्ता फर्किन्छ की भन्ने मनसाय बोकेर प्रतिगामी तत्वहरुले जनतालाई भ्रमित पार्ने काम गरिरहेको उहाँको भनाइ छ । “यो संविधान र व्यवस्था लामो बलिदान र धेरै जनताको कुर्वानीबाट आएको व्यवस्था हो,” उहाँले भन्नुभयो, “त्यसैले यसको रक्षा गरेर आवश्यकताअनुसार जनताको पक्षमा हुने गरी संशोधन गर्दै अगाडि जाने वातावरण हामीले बनाउनुपर्छ ।”
संविधानमा लेखिएका कतिपय अधिकारका बारेमा सङ्घीय कानुन निर्माण नहँुदा स्थानीय सरकार र प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको उहाँले बताउनुभयो । “तीनै तहका सरकारका आआफ्ना एकल अधिकार र साझा अधिकार भए पनि कानुन बन्न नसक्दा अझै समस्या छ”, उहाँले भन्नुभयो, “चाहे त्यो निजामति विधेयक होस्, चाहे प्रहरी समायोजन वा शिक्षासम्बन्धी विधेयक होस् ।”
कानुन समयमा निर्माण नगर्ने अनि काम गर्न सकेन भनेर स्थानीय र प्रदेश सरकारलाई बदनाम गर्न खोजिएमा व्यवस्थामै चुनौती आउने उहाँको भनाइ छ ।
