लैङ्गिकमैत्री तथा समावेशी उद्यम विकासमा सरकार प्रयासरत छः मुख्यमन्त्री सिंह

आर्थिक समाचार

जनकपुर, २१ जेठः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लैङ्गिकमैत्री तथा समावेशी उद्यमको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशको प्रतिनिधिमण्डलसँग आज यहाँ छलफल गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन उद्यमशीलताका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

“महिलाको आर्थिक सशक्तिकरणबिना समावेशी विकास सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “महिला तथा पछाडि पारिएका समुदायलाई उद्यममा सहभागी गराएर मात्र दिगो विकास सम्भव छ । यसतर्फ सबै लगौँ ।”

महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी नेतृत्वमको टोलीले ‘लैङ्गिकमैत्री तथा समावेशी उद्यम र व्यवसाय विकास’ सम्बन्धी स्थितिपत्र मुख्यमन्त्री सिंहलाई हस्तान्तरण गरेको थियो ।

महासङ्घले महिलाको उद्यमशीलता प्रवर्द्धनका लागि नीति सुधार, लगानीमैत्री वातावरण र सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न प्रदेश सरकारसँग आग्रह गरेको थियो ।