काठमाडौँ/ श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरत् सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीसँगको मङ्गलवारको भेटमा मन्त्री भण्डारीले नेपाली नागरिकको हितका लागि सरकारले काम गरिरहेको दाबी गरे । उनले यसमा एनआरएनएको सहयोग र समन्वय अपेक्षित रहेको बताए । मन्त्री भण्डारीले विदेशमा ५ हजारभन्दा बढी नेपाली श्रमिक रहेका देशहरूमा श्रम सहचारी नियुक्त गर्ने सरकारी निर्णय भए पनि स्रोतको अभावमा यो कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए ।
हाल केही देशमा स्थानीय स्तरमा कर्मचारी राखेर काम भइरहेको भए पनि धेरै देशमा श्रमिकका समस्या जटिल बन्दै गएको उनले स्वीकार गरे । विशेष गरी श्रम स्वीकृति, भिजा नवीकरण र अन्य प्रशासनिक प्रक्रियामा नेपाली श्रमिकहरूले विदेशमा दुःख भोग्नुपरेको उनको भनाइ छ । यी समस्याको सहजीकरणको लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूसँग समन्वय गरेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयले सन् २०२४ सेप्टेम्बरसम्म विभिन्न माध्यमबाट विदेश पुगेका नेपाली श्रमिकहरूलाई वैधानिककरण (लिगलाइजेसन) गर्ने प्रक्रिया शुरु गर्न लागेको जानकारी पनि उनले दिए । यो प्रक्रियामा पनि एनआरएनएको सहयोगका लागि उनले आग्रह गरे ।
भण्डारीले मन्त्रालयले ‘श्रम संसार’ नामक मोबाइल एप्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए । यो एप्सलाई नागरिक एप्ससँग एकीकृत गरेर विश्वभर रहेका नेपाली श्रमिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । यो एप्समार्फत श्रम स्वीकृति, भिजा नवीकरण, स्वास्थ्य सेवा, लगायतका सुविधाहरू पहिलो चरणमा समावेश गरिने छ । यसले विदेशमा रहेका नेपाली श्रमिकहरूको प्रशासनिक झन्झटलाई कम गर्ने र सेवा प्राप्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
भेटमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशस्थित नेपाली दूतावास र कन्सुलर कार्यालयहरूमा कर्मचारी अभावका कारण नेपाली नागरिकले सेवा प्राप्तिमा कठिनाइ भोगिरहेको उल्लेख गर्दै यो समस्याको समाधानमा सहयोग गर्न एनआरएनए तयार रहेको बताए ।

