कामदार दैनिक
न्यूयोर्क,जून ६ , २०२५
उदाउँदो गायिका तथा पीएचडी अनुसन्धानकर्ता अश्रा कुँवरलाई उनको गीत “इतिहास तिम्रो मेरो” का लागि १st Top Shop Kathmandu 8848 Himalayan Music & Film Award USA 2025 कार्यक्रममा न्यूयोर्कको Melrose Ballroom, Long Island City मा सम्मानित गरिएको छ।
पुरस्कार समारोहमा नेपालबाट आएका २० भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुति तथा उपस्थिति थियो। कार्यक्रममा महान अभिनेता राजेश हमाल, तथा प्रसिद्ध संगीतकर्मीहरू बिक्रम बिस्टा, प्रकाश श्रेष्ठ, र शम्भुजित बाँस्कोटाजस्ता व्यक्तित्वहरूसहित अन्य थुप्रै कलाकारहरू उपस्थित थिए। अश्राको पुरस्कार विजेता गीत Mint Audio Studio Nepal द्वारा निर्माण गरिएको हो र यसमा चर्चित गायक नितेश जंग कुँवरले पनि साथ दिएका छन्।

क्यालिफोर्नियामा छायांकन गरिएको यस गीतको म्युजिक भिडियो @ira_ala_mode र @losmanduको सहकार्यमा बनेको हो। Sathachhe ले पनि भिडियोमा सिर्जनात्मक योगदान दिएका छन्। आफ्नो मनछुने स्वीकृति भाषणमा अश्राले भनिन्: “भन्छन् नि, साँचो जित त हरेक पटक लडेपछि फेरि उठ्न सक्नमा हुन्छ। नेपालबाट न्यूयोर्क आइ यति ठूलो सम्मान पाउँदा म अझ बलियो भएर अगाडि बढ्ने प्रेरणा पाएकी छु – निरन्तर लागिरहने, प्रस्तुत भइरहने र कलालाई अभियानसँग जोडिरहने।” त्यस अवसरमा उनले आफ्ना आमाबुवा अभा र बाबुलाई धन्यवाद दिँदै यो सम्मान सबै सपना देख्नेहरूको नाममा समर्पित गरिन्: “यो पुरस्कार म ती सबै सपना देख्नेहरूलाई अर्पण गर्छु, जो संसारको जुनसुकै कुनामा भए पनि नेपालको अंश बोकेर अगाडि बढिरहेका छन्।”
कार्यक्रमको आयोजना Revel Events, Buddha Tax & Accounting, र Top Shop Kathmanduले गरेका थिए र विभिन्न प्रायोजक तथा संस्थाहरूको सहयोगमा सम्पन्न भएको थियो। यसले नेपाली संगीत तथा फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दिशामा एक महत्वपूर्ण कदम सावित भएको छ। अश्रा कुँवर संगीतमा मात्र नभई आफ्नो पर्यावरणीय पीएचडी अनुसन्धान कार्यमार्फत अभियानको क्षेत्रमा समेत अगाडि बढिरहेकी छन्। उनी नयाँ पुस्ताका यस्ता कलाकार हुन्, जो कलामार्फत सामाजिक परिवर्तनको प्रेरणा दिइरहेका छन्।

