काठमाडौँ १५ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको शोक विज्ञप्तिमा कांग्रेस बाग्लुङका पूर्वजिल्ला सभापति एवम् बाग्लुङ क्षेत्र नं १ का पूर्वसांसद् कँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
बाग्लुङको बिहूँकोटमा विस १९९५ पुस १४ गते जन्मनुभएका कँडेल विस २०१० सालमा जननायक विपी कोइरालाबाट पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । विस २०१९ सालमा गुल्मी, अर्घाखाँची र पाल्पाको कमाण्डर भर्ई वनारसबाट तरूण पत्रिका लिएर आउँदा उहाँ पाल्पामा गिरफ्तार हुनुभएको थियो ।
स्वर्गीय कँडेल कांग्रेसको जेष्ठ राजनीतिज्ञसभाका पूर्वसदस्य समेत हुनुहुन्थ्यो । निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा र लोकतन्त्रको पक्षमा भएका सङ्घर्ष र आन्दोलनका क्रममा विस २०१९ देखि २०४६ सालसम्म पटक–पटक गरी उहाँले सात वर्ष जेल जीवन बिताउनु भएको थियो ।
नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कँडेलले कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । सरल, सादगी, शालीन र प्रेरणादायी जीवनशैली जीउने कँडेलको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको बताएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
सभापति देउवाले कांग्रेस बाग्लुङका पूर्वसभापति, पूर्वसांसद एवम् नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा कँडेलको निधनको खबरले आफूलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको बताउनुभयो ।
“स्वर्गीय कँडेलले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ”, सभापति देउवाले भन्नुभएको छ ।
सभापति देउवाले कँडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोे व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
