वैदेशिक रोजगारबाट फर्केर उद्यमी बनेका युवा पुरस्कृत

राजनीति वैदेशिक रोजगार

काठमाडौँ, १७ असार : सरकारले वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ युवालाई सम्मान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरतसिंह भण्डारीले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी उहाँहरूलाई सम्मान प्रदान गर्नुभयो ।

त्यसअवसरमा कोशी प्रदेशका रविन पोखरेल र राजीव खड्का, मधेसका शङ्कर सिम्खडा, बागमतीका कुमार श्रेष्ठ, गण्डकीका वसन्तबहादुर खड्का, लुम्बिनीका शोभाखर पौडेल, कर्णालीका लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिमका तर्कसिंह विष्टलाई सम्मान गरिएको हो ।

यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार झापाका पोखरेलले प्राप्त गर्नुभएको छ । सो पुरस्कारको राशि रु एक लाख ५० हजार रहेको छ । उहाँले दकममा श्री भूमिका सीपमूलक तालिम केन्द्र सञ्चालनमा ल्याई धेरै जनालाई रोजगारी दिनुभएको त्यस अवसरमा जानकारी दिइयो ।

अन्य उद्यमीले जनही रु ७५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, अनुभव र पुँजीलाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा अधिकाधिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउन पुरस्कारले प्रेरणा मिल्ने मन्त्रालयले जनाएको छ ।

सम्मानित हुनेहरूले विदेशबाट फर्केर कृषि उद्यम, ट्रेनिङ सेन्टर, पशुपालन, क्याटरिङलगायत व्यवसाय गर्दै आएका मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेकाहरूलाई पुरस्कृत गर्न मन्त्रालयले गत पुस १६ गते आवेदनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

पुरस्कार छनोटमा रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरे नगरेको, सामाजिक दायित्व बहन गरे÷नगरेको, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको र भौगोलिक क्षेत्रलगायत सात वटा मूल्याङ्कन सूचकलाई आधारका रूपमा लिइएको थियो ।

उक्त सूचनाअनुसार ५६ उद्यमीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको हो ।

त्यसअवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई उद्यमशीलतासँग जोड्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशिक रोजगारमा जाँदैमा बौद्धिक पलायन नहुने भन्दै विदेशको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा भित्र्याउने उच्च अवसर हुने बताउनुभयो ।