काठमाडौँ, १८ असारः पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरु भएको छ ।
पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथ यात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।
यो जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरुज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ । गङ्गामाई जात्राको प्रतीकका रुपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोष, गुठी संस्थानलगायतले निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको उपासना स्थलसमेत हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ ।
भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको गदेव मार्गमा परिक्रमा गराइन्छ ।
आज बेलुकी ६ बजे पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भई आजै समापन भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले बताउनुभयो
