मेडिकल टुरिजम’का लागि दन्त चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

आर्थिक राजनीति समाचार स्वास्थ्य/शिक्षा

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभएको छ । समाज डेन्टल अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनियता अझ बढी बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

“मेडिकल टुरिजमको विकासका लागि दन्त चिकित्साको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसका निम्ति दन्त उपचारको क्षेत्रलाई व्यापक विस्तार र आवश्यक प्रचारप्रसार गर्न आवश्यक छ”, स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “मेडिकल टुरिजमलाई आकर्षित गर्न आँखा, दाँत उपचारको विश्वसनियता अझ बलियो बनाउन र विशिष्टिकृत सेवाको सुनिश्चितता गर्न जरूरी छ ।”

स्वास्थ्यमन्त्री पौडेलले मेडिकल टुरिजमका लागि आवश्यक पर्ने कानुनी प्रबन्धहरू र राज्यले सहजीकरण गर्नुपर्ने विषयहरूका निम्ति सरोकारवाला पक्षसँग समन्वय गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको दन्त चिकित्सा क्षेत्र अन्तरराष्ट्रिय जगत्मा पनि विश्वसनीय छ, त्योभन्दा पनि बढी आँखाँ उपचार विश्वसनीय बन्दै गएको स्थिति छ । दन्त उपचार नेपालमा राम्रो हुन्छ भन्ने सन्देश बाहिर गएको छ ।”

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासमा देखिएका कानुनी उल्झनलाई सहजीकरण गरेर नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज बनाउनेतर्फ सरकार लागिपरेको विश्वास व्यक्त गर्नुभयो । उहाँले समाज डेन्टल दन्त चिकित्सा क्षेत्रमा विशिष्टिकृत उपचार प्रदान गर्ने संस्थाको रूपमा स्थापित भएको भन्दै दाँत स्वास्थ्यसम्बन्धी चेतना आम नागरिकमा फैलाउन पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताउनुभयो । दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्था स्थापित भएको उहाँले उल्लेख गर्नुभयो ।

समाज डेन्डल अस्पतालका प्रबन्ध निर्देशक शङ्कु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार २०५८ साल साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कुल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य रहेको छ । सो अवसरमा प्रबन्ध निर्देशक घिमिरेले रु एक करोड बराबरको उपचार कोष स्थापनाको घोषणा गर्नुभयो । गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उहाँले उल्लेख गर्नुभयो ।