चौध देशका कम्युनिष्ट नेपालमा

राजनीति समाचार

भक्तपुर | २९ भदौ : भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व कम्युनिष्टको उदय, सङ्घर्ष र वर्तमान अवस्थाका बारेमा प्रशिक्षणमार्फत जानकारी लिएका हुन् । विश्वमा कम्युनिष्ट कमजोर हँुदै गएका बेला नेपालमा भने कम्युनिष्ट किन र कसरी माथि आउँदैछ भन्ने अध्ययन गर्न २१ दिनको प्रशिक्षणले टेवा पु-याएको सहभागीले बताएका छन् ।

प्रशिक्षणमा सहभागी अल इण्डिया युथ लाइभका राष्ट्रिय सदस्य धर्मेन्द्र कुमारले २१ दिनको बसाइँले माक्र्स र लेलिनका बारेमा सिक्न पाएको बताउँदै विश्वका सबै देशको कम्युनिष्ट पार्टीका बारेमा अनुसन्धान गर्न मद्दत पुगेको बताउनुभयो । भारतका कम्युनिष्ट मन्दिर, मस्तिज जान मन नपराउने गरेको जानकारी दिँदै उहाँले नेपालमा त्यो अवस्था नरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको उदयका बारेमा जानकारी लिन पाएको उहाँको भनाइ छ । विश्वको कम्युनिष्टबारे जानकारी दिन आयोजित प्रशिक्षणमा सहभागी पाकिस्तानका पाकिस्तान वर्कस् पार्टीकी युवा नेत्री पस्मिना साहिलले आफ्नो देशमा कम्युनिष्टबारे प्रशिक्षण नै नदिइ पार्टीमा लाग्नुपर्ने बाध्यता रहेको अवस्थामा नेपालको प्रशिक्षणले कम्युनिष्ट पार्टीबारे बुझ्ने मौका पाएको बताउनुभयो । पाकिस्तानमा निकै चुनौती रहेको बताउँदै उहाँले नेपालमा जस्तो कम्युनिष्टलाई पाकिस्तानमा खुला नरहेको बताउनुभयो । पाकिस्तानकै वर्कस् पार्टीका निशार लिक्बालले आफू २५ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेर यसको भविश्य के भनेर निराश भएको अवस्थामा यहाँको प्रशिक्षणले निकै ऊर्जा थपेको बताउनुभयो । बङ्गलादेशबाट प्रशिक्षणमा सहभागी भएका साक्हबाट हुसैनले समाजवाद र क्रान्तिकाबारेमा विभिन्न देशको अनुभवबाट धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट पार्टी यहाँको सङ्घर्ष र सत्तासम्मको आरोहका बारेमा जानकारी लिने मौका पाएको उहाँको भनाइ छ । बङ्गलादेशमा कम्युनिष्टलाई कतिपयले एजेन्टका रुपमा लिने गरेको बताउनुभयो । प्रशिक्षणबारे पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता एवं स्कूलका संरक्षक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका बारेमा विभिन्न देशका नागरिकलाई जानकारी दिने मौका पाएको बताउँदै यो स्कूललाई कम्युनिष्ट स्कूलका रुपमा स्थापित गरेर लैजाने बताउनुभयो । यसले विभिन्न देशका नागरिकलाई कम्युनिष्ट व्यवस्थाबारे जानकारी दिन, विभिन्न देशका कला, संस्कृति र रहनसहनका बारेमा आदानप्रदान गर्नसमेत टेवा पुगेको छ ।

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, ताञ्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको प्रशिक्षणमा सहभागीले विश्वमा कम्युनिष्ट आन्दोलनको शुरुआत, माक्र्स, लेलिनदेखि हालसम्मको अवस्थाका बारेमा जानकारी लिन पाएको प्रतिक्रिया दिइएको छ ।