– अजय सोडारी
हाल गणतन्त्र दक्षिण कोरियामा करिब एक लाखको हाराहारीमा नेपालीको सक्रिय उपस्थिति रहेको छ । देशमा अवसर नपाएर कोरिया आएका भए पनि, हामी नेपालीको मनमा आफ्नो देश, संस्कृति र पहिचानप्रतिको माया अटुट छ । यही माया हामी विदेशमा बसेर अझ बलियो गरी महसुस गरिरहेका छौ ।

देश भनेको केवल भूगोल मात्र होइन,यो त समाज, संवेदना, कला, संस्कृति, इतिहास र स्वाभिमानको समष्टिगत रुप पनि हो ।
तर दुःखका साथ भन्नुपर्छ — हालै नेपाली राजदूतावास दक्षिण कोरियाद्वारा आयोजित “नेपाल डे” कार्यक्रममा सीमित व्यक्ति र पहुँचवालामात्र आमन्त्रित गरेर, लाखौं प्रवासी नेपालीको प्रतिनिधित्व गर्ने अवसर नदिइएकोप्रति हामी गम्भीर आपत्ति जनाउँछौं ।
एक लाख नेपाली भएको मुलुकमा ५० जनाको उपस्थिति मात्र भएको कार्यक्रमको नाममा ‘राष्ट्रिय गौरव’ देखाउनु, कर्मकाण्डी सोच, बजेट खर्च गर्ने औपचारिकता र स्वाभिमानमाथिको प्रहार बाहेक अरु केही हुन सक्दैन ।
महामहिम राजदूतज्यू, हामी पनि नेपाली हौं ।
कार्यक्रममा सहभागी ५० जना मात्र होइन, तपाई मात्र नभएर यहाँका हजारौं नेपाली पनि उतिकै देशप्रेमी, स्वाभिमानी र सशक्त प्रतिनिधि हुन् ।
म विनम्रतापूर्वक अनुरोध गर्छु
राजदूतावासको कक्षबाट हेर्ने दृष्टिकोणले होइन, सम्पूर्ण कोरियामा पसिना बगाइरहेका नेपालीहरुको आँखाबाट हेर्नुहोस् । यहां धेरै नेपालि सपुतहरु भेटाउनुहुनेछ ।
हामीलाई हाम्रो संस्कृति, हाम्रो देश र हाम्रो गौरव माथि गर्व छ । कृपया, आगामी दिनमा यस्तो विभेदपूर्ण गतिविधि दोहोरिन नदिनुहोला ।
नेपाल डे, सबै नेपालीको साझा उत्सव हो – केही पहुँचवालाको मात्र होइन ।
(लेखक NRNA KOREA का महासचिव हुन्)
