डा. राजु डंगोललाई एएफसी सिल्भर मेडिकल अवार्ड

समाचार

 काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित सनवे रिसोर्ट होटल एन्ड कन्भेन्सन सेन्टरमा आयोजित समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका डा. राजु डंगोल महर्जनले एसियाली फुटबल महासंघ एएफसीको चौथो मेडिकल अवार्डमा प्रतिष्ठित सिल्भर डिस्टिङ्ग्विश्ड सर्भिस अवार्ड प्राप्त गरेका छन्। उनको फुटबल चिकित्सा क्षेत्रमा २० वर्षको समर्पित सेवालाई कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। एएफसी मेडिकल अवार्डले फुटबल खेलाडीहरूको उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न उपचार र हेरचाहमा योगदान पुर्याउने चिकित्सक र फिजियोथेरापिस्टहरूको समर्पण र विशेषज्ञतालाई सम्मान गर्छ। डा. महर्जनले दुई दशकदेखि फुटबल चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आएका छन्।

सिल्भर अवार्ड २० वर्षको निरन्तर सेवाका लागि प्रदान गरिन्छ, जसले उनको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ। यसैगरी, हङकङ चिनका प्रोफेसर डा. युङ शूह्याङ, प्याट्रिकले एएफसी फुटबल मेडिसिन मेरिट अवार्ड र कतारका डा. खालिद अब्दुलरहमान युसिफ अल(खेलाइफीले एएफसी यङ मेडिकल अफिसर अवार्ड प्राप्त गरे। समारोहमा डा. महर्जनसँगै अन्य १२ जना चिकित्सा पेशाकर्मीले पनि गोल्ड, सिल्भर र ब्रोन्ज श्रेणीमा डिस्टिङ्ग्विश्ड सर्भिस अवार्ड प्राप्त गरे।