काठमाडौँ १० साउन । आगामी भदौ २० गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको माधब राज खरेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोटरको साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।
‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।
सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।
चलचित्रमा खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् ।

