भक्तपुर बारको अध्यक्षमा डिएलएका खाइतु निर्वाचित

राजनीति समाचार

भादगाउँ (भक्तपुर), १० साउनः नेपाल बार एसोसिएसन भक्तपुर जिल्ला अदालत एकाइको अध्यक्षमा रामसुन्दर खाइतु निर्वाचित हुनुभएको छ ।

भक्तपुर बार एकाइको आज सम्पन्न निर्वाचनमा खाइतु एक सय ३४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सरोजकुमार तुँछेंले एक सय सात मत ल्याउनुभयो भने अर्का प्रत्यासी गम्भीरमान ज्याख्वले ३० मत प्राप्त गर्नुभयो । खाइतु नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसन (डिएलए) का तर्फबाट उम्मेदवार बन्नुभएको थियो भने तुँछें डिएलएका बागी उम्मेदवार हुनुहुन्थ्यो । तुँछेंले बृहत् लोकतान्त्रिक, प्रगतिशील, गणतान्त्रिक, राष्ट्रवादी, समाजवादी एवं स्वतन्त्र पेसागत कानुन व्यवसायी समूहको तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

निर्वाचनमा डिएलएका आधिकारिक उम्मेदवारमध्ये कार्यसमिति सदस्य एक जनाबाहेक सबै निर्वाचित भएका छन् । भक्तपुर बारको उपाध्यक्षमा प्रियकुमार थापा एक सय २९ मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी शम्भुप्रसाद दाहालले एक सय १४ मत प्राप्त गर्नुभयो ।

यसैगरी सचिवमा अनिश सुवाल, सहसचिवमा निर्मला सुवाल, कोषाध्यक्षमा शेषांश गिरी र महिला सदस्यमा कल्पना कोजु निर्वाचित हुनुभयो । कार्यसमिति सदस्यहरूमा सुन्दर पुरी किरण गाइजु, राजेश्वरी प्रजापति, विष्णुराम न्हुछें, सञ्जीवप्रसाद दुलाल, सुमन कार्की र कान्छी विति प्रजापति निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत किरण न्यौपानले बताउनुभयो ।

त्यसैगरी पार्षदहरूमा बालकृष्ण प्रजापति, अभिकेश्वर पोखरेल, हिमविक्रम थापा, धर्मरत्न खाइतु, रामबाबु फुँयाल, इन्दिरा न्यौपाने, तारा पोखरेल, राधिका गोसाईं, सुमित्रा मल्ल, प्रकाश धौवञ्जार, विक्रम बखुन्छें, मन्दिरा केसी र प्रदीप कार्की निर्वाचित भएका छन् । भक्तपुर बारमा दुई सय ९२ सदस्य छन् । त्यसमध्ये आज सम्पन्न निर्वाचनमा दुई सय ७६ मत खसेको थियो ।