खोटाङका मेयर कपाल मुण्डन गरी सत्याग्रहमा

समाचार

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई सत्याग्रमा बस्नु भएको छ । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै उहाँले आइतबार देखि काठमाडौंको माइतीघरमा कपाल मुण्डन गरी सेतो कपडा लगाएरसत्याग्रह थाल्नु भएको हो ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उहाँको मुख्य माग रहेको छ । सरकारको ध्यानाकर्षण गराउन उहाँ माइतीघर मण्डलामा सत्याग्रहमा बस्नुभएको बाँस नेपालका महासचिव रामहरि गिरीले जानकारी दिनुभयो ।

‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड सत्याग्रहमा राखिएको छ । केही दिन अघिमात्र मेयर भट्टराईको नेतृत्वमा खोटाङ जिल्लामा उत्पादन भएका स्थानीय बाँसबाट बनेका कुर्ची र टेबल प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र उपराष्ट्रपति रामसहाय प्रसाद यादव लगायत देशका तीन सम्माननीय व्यक्तित्व समक्ष हस्तान्तरण गर्दै माग सम्बोधनका लागि सत्याग्रह गर्ने जानकारी समेत गराइएको थियो । । नेपालमा बाँस र काठबाट बनेका स्थानीय सामाग्री देशभरका पालिका, प्रदेश र संघीय सरकारले प्रयोगमा ल्याउनु पर्ने जस्ता माग गर्दै विभिन्न कार्यक्रमहरु समेत गर्दै आएका थिए ।