सुदूरपश्चिमवासीका लागि गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचका लागि निसर्ग अस्पताल र सुदूरपश्चिम समाज कोरियाबीच दुई वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको छ। सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सुदूरपश्चिम समाज, दक्षिण कोरिया बीच दुई वर्षे औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार सुदूरपश्चिम
प्रदेशका दुर्गम पहाडी जिल्लाहरूमा संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। निसर्ग अस्पतालले विशेषज्ञ चिकित्सकहरूको टोली पठाउनेछ भने सुदूरपश्चिम समाज, कोरियाले आवश्यक व्यवस्थापन तथा समन्वयमा सहजीकरण गर्नेछ।
स्वास्थ्य शिविरका अतिरिक्त, समाजको आधिकारिक फेसबुक पेज तथा अन्य डिजिटल माध्यममार्फत प्रत्येक महिना भर्चुअल स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइनेछ। यस सेवामार्फत बालरोग, स्त्रीरोग, छालारोग, मानसिक रोग तथा मुटुरोग सम्बन्धी विषयमा अनुभवी विशेषज्ञहरूसँग परामर्श लिन सकिनेछ।
सम्झौता अन्तर्गत सुदूरपश्चिम समाज, कोरियाका साधारण सदस्य तथा तिनका परिवारजनहरूलाई निसर्ग अस्पतालका सेवाहरूमा विशेष छुट सुविधा प्रदान गरिनेछ। जनरल बेड, आईसीयू, एनआईसीयू, क्याबिन, एम्बुलेन्स, एक्स–रे, इको, प्याथोलोजी, दन्त उपचार तथा औषधिमा २० प्रतिशतसम्मको छुट प्रदान गरिने व्यवस्था गरिएको छ।सम्झौतापत्रमा निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम समाज, दक्षिण कोरियाका अध्यक्ष महेश भट्टले हस्ताक्षर गरेका हुन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा निसर्ग अस्पतालका कार्यबाहक अध्यक्ष हेमन्त ओझा, सुदूरपश्चिम समाजका पूर्व अध्यक्ष तथा अन्कुर नेपालका संयोजक धर्मराज जोशी, परिश्रमी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अक्कल बहादुर सिंह लगायतका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यो सहकार्यले सुदूरपश्चिमका जनतालाई सहज र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै समाज र अस्पतालबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।
