काठमाडौं । यतिबेला तीज गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । सार्वजनिक भएका र धेरै भिवर्स कमाएका धेरै गीतहरुलाई हेर्ने हो भने अधिकांश कित दोहोरी गीत सार्वजनिक भएका छन्, कित तीजमा रक शैलीलाई मिश्रण गरेको पाइन्छ । यस्तै गीतहरुलाई श्रोताले रुचाउँछन् भनेर विभिन्न भावभंगीका दोहोरी या रक शैलीका गीतलाई प्राथमिकता दिने हो भने एक दिन तीज गीतको वास्तविक मर्म भोलीको पुस्तालाई थाहापत्तो हुने छैन । तर यस्तै भड्किलो तीज गीतको भिडमा पनि केहि मौलिक तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यहि क्रममा गायिका लक्ष्मी पुरी प्रधानले ‘घन्काइदेउ मादलु’ बोलको मौलिक गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतमा बाल्यवस्था, प्रेम र पुर्णतः माइती गाउँकोे यादलाई जोडिएको छ ।
‘भिवर्स, चर्चा र पैसाका लागि देशको सांस्कृतिक पर्वमाथि प्रहार गर्नु हुँदैन । आज चर्चा कमाइएला भोली त हाम्रो मौलिकता हराएर खोज्नु पर्ने अवस्था आउनेछ । यहि सोचले नै हाम्रो टिमले यो गीत गरेका हौं ।’ गायिका लक्ष्मी पुरीले हामीसँग भनिन् । सञ्चारकर्मी समेत रहेकी गीतकार सबिता पोखरेलको शब्द रहेको गीतमा वास्तविक तीज गीतको मर्म भेटिन्छ । केसु गुरुङ र सरु केसीको कोरस भोकल रहेको गीमा सुमन पण्डित बैरागीको संगीत रहेको छ । संगीत संयोजन मदन केसीले गरेका हुन् । एमबि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई गीतको मिक्सिङ तथा मास्टरिङ विपिन आचार्यले गरेका हुन् ।
निरेन श्रेष्ठद्वारा निर्देशित र नितिन वाइबाको कोरियोग्राफीमा बनेको भिडियोमा रिचा खड्काको अभिनय रहेको छ भने गायिका लक्ष्मी लगायतलाई पनि देख्न सकिन्छ । सुनिल भण्डारीले छायांकन गरेको भिडियोलाई गायिका लक्ष्मीले आफ्नै युट्युब च्यानल मार्फत सार्वाजनिक गरेकी हुन् ।
तीज गीत भन्ने बित्तिकै मौलिकता जोडिनुपर्ने बताउने गायिका लक्ष्मीले आफ्नो हरेक सिर्जनामा सोही प्रयास गर्दै आएकी छिन् ।

