सत्याग्रहबाट माग पुरा नभएपछि दिक्तेलका मेयर आमरण अनशनमा

समाचार

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बुधबारदेखि अनशनमा बस्नु भएको छ । तीनदिने सत्याग्रहबाट पनि सरकारले माग सम्बोधन नगरेपछि मेयर भट्टराई आमरण अनशनमा बस्नु भएको हो । ‘तीनदिने सत्याग्रहपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको छु ।’ उहाँले भन्नुभयो । देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहितका मुख्य मागहरु मेयर भट्टराईले राख्नु भएको छ ।

यसैबीच, बुधबार नै मेयर भट्टराई र सरकारी पक्षबीच माइतीघरमा वार्ता भएको छ । वार्ता सकारात्मक रहेको भट्टराईका सहयोगी एवं बाँस नेपालका महासचिव रामहरि गिरीइले जानकारी दिनुभयो । सत्याग्रह तथा आन्दोलनका माग सम्बोधन हुने गरी ठोस निर्णय हुन अझै बाँकी रहेकाले आगामी वार्ताबाट छिट्टै नै हामी हाम्रो माग सम्बोधन हुनेमा आशावादी रहेको महासचिव गिरीको भनाई छ ।