काठमाडौँ, साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई महसुस हुनेगरी अझै पनि स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताउनुभएको छ ।
‘परिवर्तन नेपाल’ संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासका लागि नीतिगत सुधारको थालनी गरेका छौँ, अबको एक वर्षभित्र हामीले गरेको नीतिगत सुधारले जनतालाई स्वास्थ्य क्षेत्रमा अनुभूति दिलाउनेछ ।”
वर्तमान सरकारले थालनी गरेका कुरा पूरा हुँदा आमनागरिकले स्वास्थ्य क्षेत्रमा सुधारिएको अनुभूति गर्ने मन्त्री पौडेलले उल्लेख गर्नुभयो । मुलुकमा सुशासनको समस्या भएकाले यसका लागि निर्मम ढङ्गले काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सुशासनको अनुभूति नभएका कारण जनतामा निराशा छाएको उहाँको भनाइ थियो । विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा रु एक लाखबाट रु दुई लाख पु¥याए पनि नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
समाजलाई सक्रिय बनाउन परिवर्तन नेपालले खेलेको भूमिका सराहनीय रहेको उहाँले बताउनुभयो । परिवर्तन नेपालले मुलुकको शिक्षा, स्वास्थ्य र सामाजिक जागरणका क्षेत्रमा गरेको काम उदाहरणीय रहेको उहाँको भनाइ थियो ।

