चलचित्र ‘चिट्ठी’को “सिन्दुरको रंग” सार्वजनिक

मनोरन्जन समाचार

काठमाण्डौ १६ साउन । भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजनिक गरिएको हो ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने चलचित्र ‘चिट्ठी’ हरर र कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले बताएको छ । सार्वजनिक गरिएको गीत ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना पति प्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ ।
गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत र गायिका बेनिषा पौडेलको स्वर रहेको छ । चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् ।
चलचित्रको युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्आत्माबीचको अन्तरव्दन्व्दमा आधारित रहेको बताइएको छ । सामाजिक यथार्थता, निकायगत विकृति, मानविय प्रवृत्ति र पारिवारिक भावना समेटिएको चलचित्र ‘चिट्ठी’ समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उद्देश्यका साथ निर्माण गरिएको हो ।
चलचित्रमा खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।